jeevanwrites.blogspot.com

कहिलेकाही शब्दहरुले नै नि:शब्द बनाउँछन् ।

संसद विघटन

अहिलेको अवस्थामा जनतामा चरम निराशा र आक्रोश छ। देशले लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनको चक्र भोगेको छ। हामीले विश्वास गरेर पठाएका प्रतिनिधिहरूले नै हाम्रो आशामाथि पानी खन्याएका छन्। पुरानो सोच र स्वार्थले ग्रसित नेताहरूले देशको भविष्यलाई बन्धक बनाएका छन्।उनीहरूका लागि राजनीति सेवा होइन, व्यापार बनेको छ। पद र सत्ताका लागि जे पनि गर्न पछि नहट्ने प्रवृत्तिले देशलाई कहिल्यै अगाडि बढ्न दिँदैन। यी नेताहरूले दशकौंसम्म देश र जनतालाई धोका दिए। अब यिनीहरूलाई लात हानेर निकाल्नुको विकल्प छैन।
 यो संसदले जनताको भावना र चाहनालाई प्रतिनिधित्व गर्न सकेन। यो केवल सत्ता र शक्तिको खेल मैदान मात्र बनेको छ। यदि देशलाई नयाँ दिशा दिनु छ भने यो पुरानो संरचनालाई विघटन गर्नु अपरिहार्य छ।नयाँ सोच र नयाँ ऊर्जासहितको नेतृत्वलाई मौका दिनका लागि यो कदम चाल्नुपर्छ।युवाहरूले अब मौन बसिरहनु हुँदैन। देश बनाउने जिम्मा अब नयाँ पुस्ताको काँधमा आइसकेको छ। हामीले देशलाई यो राजनीतिक दलदलबाट बाहिर निकाल्नुपर्छ। अब भाषण होइन, काम चाहिएको छ; अब आश्वासन होइन, परिणाम चाहिएको छ। हामीले एउटा यस्तो नयाँ राजनीतिक क्रान्तिको सुरुवात गर्नुपर्छ, जसले पुराना, भ्रष्ट र स्वार्थी नेताहरूलाई सधैंका लागि बिदा गरोस्।
   संसद विघटन केवल एउटा प्रक्रिया मात्र होइन, यो नयाँ नेपालको जग बसाल्ने पहिलो कदम हो।


 

Post a Comment

0 Comments