देउरालीको चौतारामा लठ्ठेपिङ गाउँका हामीसँगै मिलेर खेलिन्थ्यो। अहिलेको जस्तो तयारी डोरी नभए पनि बाबियो बटारेर बनाइएको पिङको डोरी साह्रै बलियो हुन्थ्यो। हामी साथीभाइ मिलेर बाबियो खोज्न जाने र पिङ बनाउने जिम्मा हामीले गाउँका अग्रज हजुरबुबाहरु, काका दाईहरूलाई दिइन्थ्यो त्यो क्षण नै दशैँको सबैभन्दा मीठो तयारी हुन्थ्यो। त्यो लठ्ठेपिङमा बसेर मच्चिँदा लाग्थ्यो, संसार नै जितेको छु।
दशैँको समयमा गाउँघरमा परदेशी आफन्तहरू आउँदा घर भरिन्थ्यो। बिहान-साँझ दशैँको गीतमा रमाइलो हुन्थ्यो, घरभरि हाँसो र कुराका गुञ्जन सुनिन्थे। विशेषगरी दशैँको टिकाको दिन नयाँ लुगा लगाएर ठूलाबाट टिका थाप्न जाने र उहाँहरूले लगाइदिनुभएको टिका र जमराको महत्त्व नै बेग्लै हुन्थ्यो। दक्षिणा पाउँदा त मनमा छुट्टै उत्साह हुन्थ्यो।
तर अहिले त्यो दशैँको रौनक छैन। सहरको गल्लीमा लठ्ठेपिङहरू बिरलै देखिन्छन्। दशैँमा जमघट हुने साथीहरू अहिले संसारको कुनै कुनामा छन्। हाम्रो बाल्यकालमा दशैँको खुसी सानो दक्षिणामा मात्रै सीमित थिएन, त्यो त साथीभाइसँगको रमाइलो, बाबियोको पिङ र गाउँघरको रौनकमा थियो। आज हामीसँग आधुनिक सुविधा छ, तर त्यो दशैँको खुसी र सादगी छैन। साँच्चै, त्यो दशैँ र त्यो बाल्यकालको सम्झना मात्रैले पनि मनलाई आनन्दित बनाउँछ।

0 Comments