नोटबुकमा लेखेर राख्थे प्रिती
तिम्रो हाँसो, तिम्रा नजरहरू, तिम्रो नामको अक्षरहरू
हरेक शब्दमा तिमी बाँचिरहेकी थियौ।
तर डर लाग्थ्यो...
कसैले त्यो नोटबुक पल्टायो भने,
मेरो आत्माले लुकाएर राखेको रहस्य उजागर भइहाल्ला कि?
त्यसैले त,
मोबाइलको एकान्त एल्बममा
सजाएर राखेको छु — तिम्रा तस्वीरहरू,
त्यो मुस्कान जुन मैले कहिल्यै प्रत्यक्ष देख्न पाइनँ,
तर हरेक रात सम्झिँदा मन झसङ्ग हुन्छ।
यादहरुलाई भने…
त्यो त अरु कोही कहाँ देख्न सक्छ र?
मैले त ती यादहरूलाई एउटा कल्पनाको विमानमा राखेर
टाढा पठाइसकेको छु,
जसको टिकट काटिएको छ — तिम्रो मनतिर।
तिमी...
भेटिन्छेउ त त्यो विमानस्थलमा?
जहाँ यात्रुहरू झर्ने क्रममा म तिमीलाई हेरेर चिच्याउन सकूँ:
“यो नै हो मेरी कविता! यो नै हो प्रिती!!”
तर, तिमी त हेरिन पनि नहेरी
अघि बढ्छ्यौ होला।
त्यो बेला,
मेरो दिलको उडान र तिम्रो मौनता
एकै लहरमा ठोक्किन्छ,
र म...
फेरि पनि एउटा नयाँ कविता लेख्न थाल्छु —
"तिमी विमानस्थलमा भेटिएकी थियौ,
तर नजर तिम्रो कहिल्यै फर्किएन।"
0 Comments